काठमाडौं :जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले आफ्नै तलबसहित मन्त्रीपरिषद्का सदस्यहरूको पारिश्रमिक घटाउने तयारी गरेकी छिन्। सरकारी कर्मचारीको तलबसम्बन्धी कानुनमा संशोधन गर्ने उनको योजनाबारे जापान टाइम्स ले सम्बन्धित मन्त्रीहरूलाई उद्धृत गर्दै खबर प्रकाशित गरेको छ।
समाचार अनुसार, संसद्को चालु सत्रमा छिट्टै सम्भवतः मंगलबार सम्म यो विषयमा छलफल हुने बताइएको छ। प्रस्तावित संशोधनले प्रधानमन्त्री र मन्त्रीपरिषद्का अन्य सदस्यहरूलाई हाल दिइँदै आएको अतिरिक्त भत्ता रोक्का गर्ने प्रावधान ल्याउनेछ। प्रधानमन्त्री ताकाइचीले यो कदम प्रशासनिक कार्यकुशलता र वित्तीय सुधारतर्फको आफ्नो प्रतिबद्धता प्रदर्शन गर्न उठाएको बताएकी छन्। उनी विगत देखि नै मन्त्रीहरूको तलब घटाउनुपर्नेमा जोड दिँदै आएकी थिइन्।
गत अक्टोबरमा प्रधानमन्त्री बनेपछि आयोजित पत्रकार सम्मेलनमा उनले कानुन निर्माताहरूलाई दिइँदै आएको अतिरिक्त भुक्तानी बन्द गर्न कानुन संशोधनको तयारी गरिरहेको घोषणा गरेकी थिइन्।





