काठमाडाै: नेकपा एमालेले आज देशभर एकैसाथ शक्ति प्रदर्शन गर्दैछ। पार्टीको जनपरिचालन कार्यक्रमअन्तर्गत देशका सबै ७५३ वटै स्थानीय पालिकामा नारा जुलुस र मोटरसाइकल र्याली आयोजना गरिएको छ। एमालेले संसद् विघटनलाई “प्रतिगामी कदम” भन्दै त्यसको विरोधमा देशव्यापी जनप्रदर्शन सुरु गरेको हो।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, मंसिर २२ गते देशभरका ६,७४३ वटै वडामा वडा भेलाहरू सम्पन्न भएका थिए। ती भेलाहरूमा भदौ २४ पछि देखिएका राजनीतिक घटनाक्रम, संसद् विघटन र पार्टीको आगामी रणनीतिबारे कार्यकर्ताहरूलाई विस्तृत जानकारी दिइएको थियो।
गौतमले बताएअनुसार, आजका कार्यक्रममा कतिपय पालिकाहरूमा मोटरसाइकल र्यालीमार्फत शक्ति प्रदर्शन हुनेछ भने कतिपय ठाउँमा नारा जुलुस र कोणसभा आयोजना गरिनेछ। जनतालाई जागरूक बनाउन पार्टीले तयार पारेका नाराहरू प्रयोग गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ।
एमालेले हरेक सहभागीलाई पार्टीको झण्डा सहित जनप्रदर्शनमा सहभागी हुन,कार्यक्रम गर्न र प्रदर्शनपछि छोटो कोणसभा गरी नेताहरूले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्न अनुराेध गरिएकाे छ। । साथै, प्रदर्शनका तस्बिर र भिडियो सामाजिक सञ्जालमा #UMLजनप्रदर्शन ह्यासट्याग सहित शेयर गर्न पनि पार्टीले आह्वान गरेको छ।





