स्वास्थ्य / जीवनशैली

पाइल्स भएका व्यक्तिले कस्तो खानपान खाने ?

काठमाडौं :पायल्स मलद्वारमा अत्यधिक दबाब पर्नुका कारण उत्पन्न हुने समस्या हो, जसले दिसा गर्न कठिनाई, घाउ, रगत बग्ने तथा मासु पलाउने जस्ता लक्षण देखिन सक्छन्। दीर्घ कब्जियत, मोटोपना, गर्भावस्था, अत्यधिक व्यायाम, तथा कम फाइबरयुक्त खानपान यो समस्याका प्रमुख कारण मानिन्छन्।

पायल्सको उपचारमा औषधिसँगै सही खानपान र जीवनशैलीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। विशेष रूपमा फाइबरयुक्त खाना, पर्याप्त पानी तथा नियमित गतिविधिले लक्षणलाई धेरै हदसम्म नियन्त्रणमा राख्न सक्छ।

के खाने ?

पायल्स भएका व्यक्तिले सोल्युबल र इनसोल्युबल दुवै प्रकारका फाइबरयुक्त खाना उपयुक्त मात्रामा खानु आवश्यक हुन्छ। फाइबरले दिसा नरम बनाइ कब्जियत कम गर्छ।

सोल्युबल फाइबरयुक्त खाना

  • ओट्स
  • मुङ वा मुसुरोको दाल
  • स्याउ, केरा, आलुबखडा
  • आलु, सखरखण्ड

इनसोल्युबल फाइबर

  • खैरो चामल, कोदो, जौ, फापर
  • बदाम, चिया सिड्स (नट्स र सिड्स)
  • सागपात, गाजर, काँक्रो, ब्रोकाउली, बन्दागोभी

फाइबरको मात्रा एक्कासी धेरै बढाउँदा ग्यास वा ब्लोटिङ हुन सक्छ, त्यसैले विस्तारै मात्र बढाउनु उपयुक्त हुन्छ। दिनमा कम्तीमा २–३ लिटर पानी पिउनैपर्छ। फाइबरले काम गर्नका लागि शरीरमा पर्याप्त पानी हुन जरुरी हुन्छ। नरिवल पानी, मोही तथा राति सुते अघि एक चम्चा घिउ मिसाइएको मनतातो पानी पिउनाले भोलिपल्ट दिसा सजिलो हुन्छ।

के नखाने ?

  • पिरो मसालेदार खाना (खुर्सानी, बढी मसला)
  • डेप फ्राइड (तारेका) खाद्य पदार्थ – पकौडा, फ्राइज
  • कफी, चिया, सोडा – डिहाइड्रेसन गराउँछ
  • प्रशोधित खाना – चिप्स, बिस्कुट, चाउचाउ
  • रातो मासु – पचाउन गाह्रो
  • डेरी पदार्थ – केहीमा कब्जियत बढाउन सक्छ
  • धेरै नुनिलो खाना
  • रक्सी र चुरोट – पाचन तथा रगतसञ्चारमा नकारात्मक असर
  • फास्ट फुड – पाचन कमजोर पार्ने

थप सुझाव

  • खाना राम्ररी चपाएर मात्र खानु।
  • हल्का व्यायाम, हिँडडुल वा योग गर्ने।
  • लामो समय उस्तै अवस्थामा नबस्ने, ३०–४० मिनेटमा उभिनु वा हिँड्नु।
  • खानामा फाइबर बिस्तारै बढाउने।
  • अत्यधिक दुखाइ वा रगत बग्ने अवस्था भए चिकित्सकको परामर्श लिनु।

सही खानपान र जीवनशैलीले धेरैलाई राहत दिने भए पनि गम्भीर अवस्थामा चिकित्सकीय उपचार आवश्यक हुन सक्छ।

सेयर गर्नुहोस् :