काठमाडौं :नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आउने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार सार्वजनिक गरिएको वक्तव्य मार्फत उनले पार्टी पुनर्गठन, रूपान्तरण र नयाँ नेतृत्वको आवश्यकतालाई ध्यानमा राख्दै आफू तयार भएर अघि सरेको बताएका हुन्।
पोखरेलले देशभरका कार्यकर्ताले आफूलाई नेतृत्वमा आउन निरन्तर गरेको आग्रहलाई स्वीकार गर्दै अध्यक्षमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको स्पष्ट पारे। उनका अनुसार एमालेलाई संगठनात्मक, वैचारिक र कार्यदक्षताका आधारमा फेरि ठोस रूपमा उभ्याउन नेतृत्वमा परिवर्तन अपरिहार्य छ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान अध्यक्ष केपी शर्मा ओली नेतृत्व हस्तान्तरणमा सहयोगी बन्ने विश्वास व्यक्त गर्दै पार्टीको ‘आन्तरिक लोकतन्त्र’लाई पुनः बलियो बनाउन उनी ‘अभिभावकीय भूमिका’मा रहनु जरुरी रहेको टिप्पणी गरेका छन्। “अध्यक्ष कमरेड ओली नेतृत्व हस्तान्तरणमा सकारात्मक रहुन्, सहज निकासका लागि अभिभावकीय भूमिका खेलुन्,” वक्तव्यमा उनले उल्लेख गरेका छन्।
पोखरेलले पार्टीकी पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा पुनः सक्रिय हुन मार्ग खुला गर्नुपर्नेमा जोड दिएका छन्। भण्डारी जस्तो दीर्घ राजनीतिक अनुभव र वैचारिक प्रतिबद्धता भएका नेतालाई पार्टी सदस्यता नदिनु संगठनका लागि हानिकारक भएको उनको भनाइ छ। “उहाँले पार्टीमा फर्केर आफ्नो अनुभव र ऊर्जा खर्चिन पाउनु पार्टीको सुदृढिकरणका लागि महत्त्वपूर्ण हुन्छ,” पोखरेलले उल्लेख गरेका छन्।





