समाज

कोटेश्वर–जडीबुटी अन्डरपास र फ्लाइओभर बनाउन जापानले ३१ अर्ब बराबरको ऋण दिने

काठमाडौं :नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि करिब ३१.७६ अर्ब रुपैयाँ बराबरको ऋण सहायता सम्झौतामा हस्ताक्षर भएको छ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा सम्झौता हस्ताक्षर गरिएको हो। जापानले ३४.५९ अर्ब जापानी येन बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ। जाइका मार्फत उपलब्ध हुने ऋणमा १० वर्ष ग्रेस अवधि, ३० वर्ष भुक्तानी अवधि र ०.२ प्रतिशत वार्षिक ब्याजदर रहनेछ।

आयोजनाअन्तर्गत कोटेश्वर–जडीबुटी खण्डमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ। यसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज र द्रुत बनाउने अपेक्षा गरिएको छ। आयोजनाको कार्यान्वयन जिम्मेवारी सडक विभागले लिनेछ।

ऋण सहायाता सम्बन्धी एक्सचेन्ज अफ नोटमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे। त्यस्तै, ऋण सम्झौतामा सह–सचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन्।

सेयर गर्नुहोस् :