राजनीति

रवि–बालेनबीच आज एकता, रास्वपाको नेतृत्व रवि, प्रधानमन्त्रीको उम्मेदवार बालेन

काठमाडौ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आज औपचारिक एकताको घोषणा हुने भएको छ। दुवै नेताबीच पछिल्ला केही दिनदेखि भइरहेको निरन्तर छलफल आज निर्णायक मोडमा पुगेको हो।

विश्वस्त स्रोतका अनुसार रवि र बालेनबीच दुई चरणमा एक्लाएक्लै गहिरो संवाद भएको थियो। ती संवादपछि दुवै जना एउटै राजनीतिक धारमा उभिने सहमतिमा पुगेका हुन्। हाल सहमतिको अन्तिम खाकालाई प्राविधिक रूपमा पूर्णता दिन दुवै पक्षका नेताहरू आन्तरिक गृहकार्यमा जुटिरहेका छन्।

सहमतिको मस्यौदाअनुसार बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, नेतृत्व संरचना, संगठनात्मक ढाँचा, पार्टी झण्डा तथा निर्वाचन चिन्ह ‘घण्टी’ स्वीकार गर्न तयार भएका छन्। रास्वपाले आगामी आम निर्वाचनमा बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको स्रोतको दाबी छ।

सहमति अनुसार रवि लामिछाने रास्वपाको सभापति पदमै रहने छन्। पार्टी नेतृत्व, केन्द्रीय संरचना तथा हालका पदाधिकारी टिममा कुनै परिवर्तन नगर्ने सहमति पनि भएको छ। सहमतिमा संलग्न एक नेताका अनुसार, “लगभग सबै विषयमा सहमति भइसकेको छ। पार्टी, झण्डा, चुनाव चिन्ह र नेतृत्व रास्वपाकै रहनेछ। बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ।”

बालेनले पार्टीभित्र कुनै औपचारिक संगठनात्मक जिम्मेवारी दाबी नगरेको दुवै पक्षको भनाइ छ। तर, उनले ‘जेन–जी’ पुस्ताको प्रतिनिधित्व राजनीतिमा कसरी प्रभावकारी रूपमा समेट्ने भन्ने विषयमा चासो व्यक्त गर्दै आएका छन्। यस विषयलाई सहमतिमा भावनात्मक र वैचारिक रूपमा सम्बोधन गरिएको बताइएको छ।

राजनीतिक वृत्तमा यो एकतालाई वैकल्पिक राजनीतिका लागि ठूलो मोडका रूपमा हेरिएको छ। रविको संगठनात्मक अनुभव र बालेनको जनआकर्षण तथा शहरी मतदातामाझको लोकप्रियता मिल्दा नयाँ राजनीतिक समीकरण बन्ने अपेक्षा गरिएको छ।

स्रोतका अनुसार आज बेलुकासम्म दुवै पक्षले सहमतिमा औपचारिक हस्ताक्षर गरी संयुक्त घोषणा गर्ने तयारी गरेका छन्।

सेयर गर्नुहोस् :