काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पार्टीको दोस्रो वरीयतामा राख्ने सहमति भएको छ। रास्वपा सभापति रवि लामिछाने र बालेनबीच ७ बुँदे सहमति भएपछि यो व्यवस्था तय भएको हो। सहमतिअनुसार पार्टीको नाम, चुनाव चिह्न र झन्डा रास्वपाकै रहनेछन् भने पार्टी संरचनामा जेन–जी आन्दोलनसँग जोडिएका युवा तथा स्वच्छ छविका व्यक्तिहरूलाई सहभागी गराइनेछ।
बालेनले भने हाल कुनै औपचारिक पद नलिने र केन्द्रीय समिति सदस्यका रूपमा मात्र रहने बताएका छन्। जसलाई पार्टी नेताहरूले उहाँको सदासयता र राजनीतिक परिपक्वताको रूपमा व्याख्या गर्दै बालेनलाई दोस्रो वरीयता राख्न सकिने बताएका छन। त्यस्तै आगामी प्रतिनिधिसभा निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने र पछि संसदीय दलको नेता घोषणा गर्ने सहमति सहमतिपत्रमै उल्लेख गरिएको छ।
सहमति प्रक्रियामा संलग्न नेताहरूका अनुसार पार्टीमा नयाँ संरचना थपिनेछ र संगठन विस्तार गर्दा संख्या वा प्रतिशतभन्दा पनि योग्य, सक्षम र स्वच्छ छविका व्यक्तिलाई पार्टीमा भित्र्याउने जनाएको छ। बालेनसँगको सहमतिपछि रास्वपाले केन्द्रीय समितिमा नयाँ सदस्य थपेर विवरण अद्यावधिक गर्न निर्वाचन आयोग जाने निर्णय समेत गरेको छ।




