काठमाडौं। सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकास्थित एसबीआई बैंकमा हतियारधारी लुटेरा समूहले सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब तीन करोड सात लाख रुपैयाँ लुटपाट गरेको छ। साँझ साढे ७ बजेतिर भएको घटनामा लुटेराले पेस्तोल देखाएर कर्मचारीका हातखुट्टा बाँधी रकम लुटेको बताइएको छ।
लुटपाटपछि प्रयोग गरिएको बिएडी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेटको सवारी साधन र केही रकम प्रहरीले स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको छ। यद्यपि, लुटपाटमा संलग्न व्यक्तिहरू भने फरार छन्। वन क्षेत्रमा सयौँको संख्यामा प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





