समाचार

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले सबैभन्दा बढी महिलालाई उम्मेदवार बनायो

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवारको सहभागिता अझै पनि सीमित देखिएको छ। संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरे पनि राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनमा महिलालाई कम प्राथमिकता दिँदै आएको अवस्था यसपटक पनि दोहोरिएको छ।

निर्वाचन आयोगका तथ्यांकअनुसार कुल ३४८४ उम्मेदवारमध्ये महिलाको संख्या ३९५ मात्रै छ। राजनीतिक दलबाट उम्मेदवारी दिने २२९७ जनामध्ये २३५ महिला छन् भने स्वतन्त्रतर्फ उम्मेदवारी दिएका ११८७ मध्ये १६० जना महिला रहेका छन्।

यस अवस्थाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष निर्वाचनमा सबैभन्दा बढी महिला उम्मेदवार उठाउने दल बनेको छ। रास्वपाले १६ जना महिलालाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएको छ। त्यसपछि नेकपाले १३ जना, नेपाली कांग्रेसले ११ जना र नेकपा एमालेले १० जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएका छन्। हालै गठन भएको उज्यालो नेपाल पार्टीले ७ जना महिलालाई टिकट दिएको छ।

सेयर गर्नुहोस् :