समाचार

ओलीले बोलाए बहस, बालेन “हत्यारासँग एउटै मञ्चमा उभिन्न”

काठमाडौं। निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका नेताहरू बीच सार्वजनिक बहस (पब्लिक डिबेट) गर्ने विषयले राजनीतिक वातावरण तातेको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एजेन्डा, विगतका काम र भविष्यको रोडम्यापका आधारमा पारदर्शी बहस गर्न आफू तयार रहेको घोषणा गरेका छन्।

उनले प्रधानमन्त्रीका उम्मेदवार बनेका सबै दलका नेताहरूलाई एउटै मञ्चमा ल्याउन आयोजकहरूलाई आग्रहसमेत गरेका छन्। तर ओलीको प्रस्तावपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले तीव्र प्रतिक्रिया जनाउँदै ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन्। सामाजिक सञ्जालमार्फत बालेनले ओली माथि गम्भीर आरोप लगाउँदै उनलाई “७६ जना बच्चाको हत्यारा र उसको मतियार” भन्दै यस्तो व्यक्तिसँग बहस गर्नु आफैं अपराधमा सामेल भएजस्तो हुने दाबी गरेका छन्।

ओलीको स्टाटस यस्तो छ:

पब्लिक डिबेटको लागि तयार छौँ

नयाँ / पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ।

यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ।

फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।

यस्तो छ बालेनको जवाफः

आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो!

तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो!

आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो??

त्योपछि अरू कुरा गरौँला!

७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।

सेयर गर्नुहोस् :