समाचार

सरकारको नियतमाथि ओलीको प्रश्न, फागुन २१ मा चुनाव हुनेमा आशंका

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन समय मै हुने नहुने विषयमा शंका व्यक्त गरेका छन्। शनिबार ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भौगोलिक कठिनाइ र सरकारको नियतका कारण चुनाव तोकिएको मितिमा हुन नसक्ने सम्भावना रहेको बताएका हुन्।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा चिसो मौसमका कारण मानिसको उपस्थिति न्यून रहेको उल्लेख गर्दै ओलीले त्यस्ता ठाउँमा निर्वाचन गर्नु व्यावहारिक नहुने तर्क गरे। मतदाता नै नहुने स्थानमा मतदान केन्द्र राख्नुको कुनै अर्थ नरहेको बताउँदै उनले ठूलो संख्यामा मतदाता हुनुपर्ने ठाउँमा केही व्यक्तिले मात्र मतदान गरेर बाकस पठाउने अवस्था स्वीकार्य नहुने टिप्पणी गरेका छन।

अध्यक्ष ओलीले वर्तमान सरकारसँग न त शासन गर्ने वैधानिक अधिकार छ न त जनताको समर्थन नै रहेको दाबी गरे। उनले सरकारले जबर्जस्ती निर्वाचन गराउने नाटक मञ्चन गर्न खोजेको र प्रशासनिक हेरफेर मार्फत नतिजा आफ्नो पक्षमा पार्ने प्रयास भइरहेको आरोप लगाएका छन।

सरकारले कुनै पक्षलाई जिताउने वा हराउने उद्देश्यले काम गरे त्यसको गम्भीर परिणाम हुने चेतावनी दिँदै ओलीले त्यस्तो निर्वाचन र त्यसबाट आउने नतिजा स्वीकार्य नहुने स्पष्ट पारे। साथै, सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि संविधान संशोधनमार्फत सर्वपक्षीय सरकार गठन गरी त्यसले मात्र निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सक्ने विकल्प रहेको बताएका छन।

सेयर गर्नुहोस् :