सुनसरी। भ्रष्टाचारविरोधी छविका कारण चर्चामा रहेका धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्कराज राई (हर्क साम्पाङ) ले धरान खानेपानी व्यवस्थापन बोर्डमा २२ जना आफन्त तथा नजिकका कार्यकर्तालाई गैरकानुनी रूपमा नियुक्ति दिएको तथ्य सार्वजनिक भएको छ।
मेयर पदमा रहँदा साम्पाङले कानुनी प्रक्रिया र मापदण्डको पालना नगरी ठाडो आदेशमार्फत कर्मचारी नियुक्ति गरेको पाइएको हो। स्रोतका अनुसार नियुक्त गरिएका अधिकांश व्यक्ति साम्पाङका आफन्त वा राजनीतिक रूपमा नजिकका कार्यकर्ता हुन्। उनीहरूलाई कार्यालय सहयोगी, चौकीदार, माली, प्लम्बर, सुपरभाइजर, कम्प्युटर अपरेटरलगायत पदमा राखिएको छ।
खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोखरेलका अनुसार साम्पाङ मेयरमा निर्वाचित भएपछि २०७९ चैत १ देखि २०८२ साउन ७ गतेसम्म २२ जना कर्मचारी नियुक्त गरिएको थियो। कर्मचारी नियुक्तिका लागि अनिवार्य रूपमा सार्वजनिक विज्ञापन आह्वान गरी प्रतिस्पर्धात्मक प्रक्रिया पूरा गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि त्यो प्रक्रिया अपनाइएको देखिँदैन।
नियुक्त गरिएका मध्ये दुई जनाले खरदार स्केलअनुसार मासिक ३२ हजार ९०२ रुपैयाँ तलब लिइरहेका छन् भने बाँकी २० जनाले कार्यालय सहयोगी स्केलअनुसार मासिक २४ हजार ७०२ रुपैयाँ तलब बुझ्दै आएका छन्। यसबाट धरान खानेपानी व्यवस्थापन बोर्डमा मासिक ५ लाख ५९ हजार ८४४ रुपैयाँ बराबरको आर्थिक भार परेको छ।
खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका साम्पाङले सार्वजनिक रूपमा पारदर्शिता र सुशासनको वकालत गर्दै आए पनि आफन्त र कार्यकर्तालाई गुपचुप रूपमा जागिर दिलाएको विषय बाहिरिए पछि उनको भ्रष्टाचारविरोधी छविमाथि गम्भीर प्रश्न उठेको छ।






