समाचार

एमालेले टुंग्यायो समानुपातिक सांसदका १६ नाम

काठमाडौ। नेकपा एमालेले समानुपातिक तर्फका सांसदहरूको नाम टुंगो लगाएको छ। शनिबार भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले समानुपातिक सांसदका लागि १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

पार्टीले बन्दसूचीमा रहेका उम्मेदवारहरू मध्ये बाट विभिन्न क्लस्टरका आधारमा नाम छनोट गरेको जनाएको छ। उपमहासचिव लेखराज भट्टका अनुसार आदिवासी/जनजाति क्लस्टर बाट चार जनाको नाम सिफारिस गरिएको छ। महिला तर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुष तर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य रहेका छन्।

खस-आर्य क्लस्टर बाट पाँच जनाको नाम सिफारिस गरिएको छ, जसमा महिलातर्फ पद्मा अर्याल, टुकाभद्र हमाल र यशोदा कुमारी बराल छन् भने पुरुषतर्फ गुरुप्रसाद बराल र पुष्पराज कँडेल रहेका छन्।

यसैगरी थारू क्लस्टरबाट कृपाराम राना चयन भएका छन्। दलित क्लस्टरबाट विष्णुमाया विक र निता घतातीको नाम सिफारिस गरिएको छ।

मधेशी क्लस्टरबाट रिङ्ला यादव, यशोदा कुमारी र चण्डेश्वर मण्डललाई सिफारिस गरिएको छ भने मुस्लिम क्लस्टरबाट साजिदा सिद्दिकीको नाम समावेश गरिएको पार्टीले जनाएको छ।

सेयर गर्नुहोस् :