रुपन्देही : रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजै उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। दिउँसो साढे १ बजे बस्ने सचिवालय बैठकपछि उम्मेदवार सार्वजनिक गर्ने पार्टी स्रोतले जनाएको छ।
यसअघि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट नख्खु सारिएको थियो। पार्टी स्रोतका अनुसार उम्मेदवार आकांक्षीहरू आधिकारिक घोषणा हुनु अघि नै सभापति लामिछानेलाई भेट्न कारागार पुग्ने तयारीमा छन्।
रुपन्देही–३ बाट उम्मेदवार बन्न ९ जना आकांक्षी परेका छन्। ती हुन्—पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै फर्किएका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल।
रुपन्देही–३ का प्रतिनिधि सभा सदस्य तथा राप्रपाका दिपक बोहराको निधनपछि रिक्त बनेको स्थानमा निर्वाचन आयोगले आउँदो कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय लिएको हो।





