रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई समर्थन गर्दै २०२२ मा ट्रम्प सत्तामा रहे युद्ध नै नहुने बताएका छन्। अलास्कामा ट्रम्पसँग झन्डै तीन घण्टा लामो वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा पुटिनले भने, “राष्ट्रपति ट्रम्पको भनाइलाई समर्थन गर्छु। यदि २०२२ मा अमेरिकामा ट्रम्प नै सत्तामा हुनुहुन्थ्यो भने रूसले युक्रेनमा आक्रमण गर्ने थिएन।”
ट्रम्पको पुरानो दाबी
रूस – युक्रेन युद्ध सुरु भएदेखि नै ट्रम्पले तत्कालीन राष्ट्रपति जो बाइडेनलाई दोषी ठहराउँदै आफू सत्तामा भएको भए युद्ध नहुने बताएका थिए। चुनावी कार्यक्रमदेखि पदभार ग्रहणपछि समेत उनले पटक – पटक भनेका छन् “म राष्ट्रपति भएको भए २४ घण्टाभित्र युद्धविराम गर्ने थिएँ।” तर, अहिले उनको नेतृत्वमा पनि छ महिनाभन्दा बढी बितिसक्दा युद्धविराम सम्भावना अझै टाढा देखिएको छ।
वार्तामा ठोस सहमति भएन
शुक्रबार भएको ट्रम्प – पुटिन वार्ता तीन घण्टा लामो भए पनि युद्धविरामबारे ठोस सहमति भएको छैन। पुटिनले भने, “बाइडेन नेतृत्वको अघिल्लो सरकारसँग हाम्रो सम्बन्ध अत्यन्तै कठिन रह्यो। शीतयुद्धपछिको सबैभन्दा तल्लो स्तरमा पुगेको थियो। यो स्थिति न रूसका लागि राम्रो हो, न विश्वकै लागि। त्यसैले ढिलो चाँडो संवादतर्फ बढ्नु अनिवार्य छ।”
युद्धविराम अझै टाढा
ट्रम्पले पत्रकार सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई जिम्मेवारी दिँदै “अब बल जेलेन्स्कीको कोर्टमा छ” भनेका छन्। पुटिनले पनि वार्ता जारी रहने संकेत गर्दै आगामी भेट मस्कोमा हुने बताएका छन्।
यसरी पुटिनले ट्रम्पको पुरानो दाबीलाई पुष्ट्याउँदै अमेरिकाको नेतृत्व परिवर्तन भएको भए युद्ध टारिन सक्ने बताएका छन्। तर, हालसम्मको वार्ताले युद्धविरामतर्फ ठोस प्रगति भने देखाएको छैन।





