अर्थतन्त्र

साउनमै १४ अर्बभन्दा बढी सरकारी ऋण थप

काठमाडौं : चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमै सरकारले १४ अर्बभन्दा बढी ऋण थपेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित प्रतिवेदनअनुसार आर्थिक वर्ष सुरुमा कुल सरकारी ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ थियो। तर साउन मसान्तसम्म आइपुग्दा १४ अर्ब दुई करोडले बढेर कुल सार्वजनिक ऋण २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ४३.९४ प्रतिशत बराबर हो।

प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये ५२.२६ प्रतिशत वैदेशिक ऋण (१४ खर्ब दुई अर्ब ४७ करोड ६५ लाख) र बाँकी ४७.७४ प्रतिशत आन्तरिक ऋण रहेको छ। चालू आवका लागि सरकारले पाँच खर्ब ९५ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा पहिलो महिनासम्म ४४ अर्ब ५७ करोड रुपैयाँ उठाइसकेको छ, जुन वार्षिक लक्ष्यको ७.४८ प्रतिशत बराबर हो।

आन्तरिक ऋणतर्फ ३६२ अर्ब उठाउने लक्ष्य रहेकामा ११.०५ प्रतिशत अर्थात् ४० अर्ब उठाइएको छ। वैदेशिक ऋणतर्फ २३३ अर्ब ६६ करोडभन्दा बढी लक्ष्य रहेकामा १.९६ प्रतिशत अर्थात् ४ अर्ब ५७ करोड उठाइएको छ।

त्यस्तै, यस आवमा ऋणको साँवा तथा ब्याज तिर्नका लागि ४ खर्ब ११ अर्ब एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। साउन मसान्तसम्म मात्र ३६ अर्ब ६८ करोड भुक्तानी भइसकेको छ, जुन वार्षिक विनियोजनको ८.९३ प्रतिशत हो।

सेयर गर्नुहोस् :