गुवाहटी : नेपाल ‘ए’ ले आसामविरुद्धको पहिलो मैत्रीपूर्ण ट्वान्टी–२० खेलमा १५ रनको हार बेहोरेको छ। टस जितेर ब्याटिङको निम्तो पाएको आसामले २० ओभरमा ८ विकेट गुमाउँदै १९० रनको चुनौतीपूर्ण योगफल बनायो। अन्तिम दुई ओभरमा आक्रामक प्रहार गर्दै उनले ५१ रन थपेका थिए। अभिनव चौधरी ७ बलमा २६ तथा आकाश सेनगुप्ता ८ बलमा २४ रन बनाउँदै अविजित रहे।
जवाफमा नेपालले ३ विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकियो। डकवर्थ लुइस पद्धतिबाट आसाम विजयी घोषित भयो। खेल रोकिँदा शुभ कंसकार २१ बलमा ३३ रन र सन्दीप जोरा २ रनमा क्रिजमा थिए। कप्तान अनिल साहले २० रन जोडे भने इशान पाण्डे र पवन सर्राफ क्रमशः १ र ६ रनमा आउट भए।
बलिङतर्फ नेपालका आकाश चन्दले ३, कमलसिंह ऐरी र विवेक यादवले समान २–२ तथा आदिल अलाम अन्सारीले १ विकेट लिए।
नेपाल ‘ए’ र आसामबीचको पाँच खेलको सिरिजअन्तर्गत दोस्रो खेल शुक्रबार गुवाहटीस्थित एसीए रंगशालामा खेलिनेछ।





