नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले सामाजिक सञ्जालमार्फत आफ्नो घुँडाको गम्भीर चोटको उपचारका लागि आवश्यक धनराशी एकैछिनभित्रै जुटेको घोषणा गरेकी छन्। उनले देश तथा विदेशका शुभचिन्तक, संस्थागत पक्ष र समर्थकहरूसँग प्राप्त करिब १ करोड रुपैयाँ नेपाली बैंक खातामा र ४५ लाख रुपैयाँभन्दा बढी विदेशी प्ल्याटफर्ममार्फत संकलित भएको जानकारी दिइन् । उक्त रकमले उनको कतारमा हुने शल्यक्रिया, आवास, यातायात लगायतका सम्पूर्ण उपचार खर्च पुरा हुने हुँदा यसबाट पर्याप्त जम्मा भएकोले आजैदेखि दुवै खातामा थप आर्थिक सहयोग रोकिदिन सबैसँग औपचारिक अनुरोध गरेकी छन् ।
भण्डारीले आफ्नो उपचार तथा पुनर्स्थापनाका लागि क्लबबाट बीमा रकमसहित थप सहायता मिलिरहेको र चाँडै शल्यक्रियाको मिति निर्धारण हुने विश्वास व्यक्त गरेकी छन् । उनले समर्थकहरूको समर्थनले मानसिक रूपमा पनि साहस मिलेको उल्लेख गर्दै फेरि बलियो भएर राष्ट्रिय जर्सीमा खेल मैदान फर्कने दृढ प्रतिवद्धता व्यक्त गरिन् ।





