अन्तराष्ट्रिय

खामेनीको हत्या अन्तर्राष्ट्रिय कानुन विरुद्ध : भ्लादिमिर पुटिन

काठमाडौ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको कडा शब्दमा निन्दा गरेका छन्। उनले उक्त घटनालाई अन्तर्राष्ट्रिय कानुनविरुद्धको घृणित र निन्दनीय अपराध भन्दै यसको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन्। पुटिनले यस विषयमा संयुक्त राष्ट्रसंघ को संयोजनमा अन्तर्राष्ट्रिय छानबिन हुनुपर्ने मागसमेत गरेका छन्।

क्रेमलिनबाट जारी वक्तव्यमा पुटिनले सार्वभौम राष्ट्रको नेतृत्वलाई लक्षित गरी गरिएको यस्तो हत्या कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेका छन्। उनले यस किसिमको आक्रमणले अन्तर्राष्ट्रिय कानुनी व्यवस्था मात्र नभई विश्व शान्ति र सुरक्षा संरचना माथि गम्भीर चुनौती सिर्जना गरेको उल्लेख गरेका छन्।

यसैबीच,रुसले मध्यपूर्व क्षेत्रमा तीव्र बन्दै गएको सैन्य तनाव प्रति गहिरो चिन्ता व्यक्त गरेको छ। मस्कोले वर्तमान अवस्थाले क्षेत्रीय मात्र नभई अन्तर्राष्ट्रिय अस्थिरता बढ्न सक्ने खतरा रहेको भन्दै सबै सम्बन्धित पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।

रुसले द्वन्द्व थप फैलिन नदिन कूटनीतिक पहल अपरिहार्य रहेको धारणा व्यक्त गर्दै तत्काल संवाद र शान्तिपूर्ण समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिएको छ। पुटिनले अन्तर्राष्ट्रिय समुदायलाई पनि सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दै मध्यपूर्वमा शान्ति र स्थिरता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :