समाचार

दाउन्नेमा सडक चिप्लो हुँदा दुईतर्फी यातायात अवरुद्ध, सवारी लामबद्ध

काठमाडाै:पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित विश्वकर्मा मन्दिर नजिकको सडक खण्डमा बिहीबार बिहानदेखि दुईतर्फी यातायात अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण सडक चिप्लिएर मालवाहक सवारी रोकिँदा राजमार्गमा लामो सवारी जाम देखिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान करिब ८ बजे चिप्लो सडकका कारण मालवाहक सवारी पश्चिमतर्फ उकालो चढ्न नसक्दा यातायात पूर्णरूपमा ठप्प भएको हो। उक्त सडकखण्ड सोमबार र मंगलबार पनि बन्द भएको थियो, जुन बुधबार मात्र दुईतर्फी सञ्चालनमा ल्याइएको थियो। तर, बिहीबार पुनः चिप्लो सडकले समस्या दोहोरिएको हो। डीएसपी मधु नेपाल का अनुसार, “सडक चिप्लिएर सवारी साधनहरु अलपत्र परेपछि गिट्टी छर्ने काम भइरहेको छ। यथासक्य चाँडो सडक खुलाउने प्रयासमा प्रहरी टोली खटिएको छ।”

यातायात अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारी चालकहरू राजमार्गमा लामबद्ध छन्। तत्कालको राहतस्वरूप गिट्टी हालेर सवारी चलाउने प्रयास भइरहेको जनाइएको छ।

सेयर गर्नुहोस् :