खेलकुद

नेपाली क्रिकेट टोली अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्दै

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी भदौ १० देखि १४ गतेसम्म अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

नेपालले भदौ १० गते एसिटी र भदौ १२ गते साउथ अस्ट्रेलियासँग दुई–दुई ट्वान्टी–२० खेल खेल्नेछ। पहिलो खेल बिहान ४ः४५ र दोस्रो खेल ९ः४५ मा सुरु हुनेछ। त्यसैगरी, भदौ १४ गते साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेल्ने तय छ, जुन बिहान ५ः४५ बजे सुरु हुनेछ।

यो अभ्यास शृंखलासँगै नेपाली टोली डार्बिनमा टप एन्ड टी–२० सिरिज पनि खेल्नेछ, जसको आयोजना साउन २९ देखि भदौ ८ सम्म हुनेछ। सिरिजमा नेपालले अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोली, पाकिस्तान ‘ए’ र बङ्गलादेश ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोलीले यो अभ्यास शृंखला आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप छनोटको तयारी स्वरूप खेल्न लागेको हो।

सेयर गर्नुहोस् :