पर्यटन

नेपाल आउने पर्यटकको औसत बसाइ १३.३ दिन, दैनिक खर्च घट्यो

काठमाडौं : गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल आउने पर्यटकको औसत बसाइ अवधि १३.३ दिन पुगेको छ, जुन अघिल्लो वर्षको १३.२ दिनभन्दा अलिकति बढी हो।

पर्यटन विभागका तथ्यांक अनुसार गत आवमा नेपालमा ११ लाख २८ हजार पर्यटक आएका छन्, जुन २०८०/८१ को ११ लाख १७ हजारभन्दा सामान्य वृद्धि हो। सरकारले १६ लाख पर्यटकको लक्ष्य राखेको भए पनि पूर्ण लक्ष्य पुरा भएन।

हाल नेपालमा प्रतिपर्यटक प्रतिदिन खर्च ४०.८ अमेरिकी डलर रहेको छ, जुन अघिल्लो आवको ४१ डलरभन्दा घटेको हो। पर्यटन सुविधामा पनि सुधार गरिएको छ। २८ अन्तर्राष्ट्रिय गन्तव्यसँग नेपाल जोडिएको छ, कुल ६४० किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको छ। तारे होटलमा बेड संख्या २०,३४० पुगेको छ, र अन्तर्राष्ट्रिय जहाजमा सिट क्षमता ८७ लाख पुगेको छ।

सुदूरपश्चिमको खप्तड र कर्णालीको रारा क्षेत्रमा डोटी र मुगुमा पर्यटक प्रहरीको अस्थायी पोस्ट स्थापना गरिएको छ। सातै प्रदेशमा पर्यटक प्रहरीको सेवा उपलब्ध भएको छ।

यो वर्षबाट पर्वतारोहण अनुमति प्रणाली, होटल व्यवस्थापन प्रणाली र क्यासिनो व्यवस्थापन प्रणाली विद्युतीय माध्यमबाट सञ्चालनमा आएको छ। यस आवसम्म तारे स्तरका २६ होटल र रिसोर्टले नयाँ इजाजत पाएका छन् भने १८ साहसिक पर्यटन आयोजनाको प्रारम्भिक वातावरणीय प्रतिवेदन स्वीकृत गरिएको छ।

२,५४८ जनाले पर्वतारोहण अनुमति पाएका थिए भने ९ हिमालमा स्किइङ र अन्य साहसिक खेलको अनुमति प्राप्त भएको विभागले जनाएको छ।

सेयर गर्नुहोस् :