मनोरञ्जन

बलिदान’को टिजर सार्वजनिक : अन्यायविरुद्धको विद्रोह र बदलाको कथा

काठमाडौं : दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागिएको बहुप्रतिक्षित फिल्म ‘बलिदान’को टिजर सार्वजनिक गरिएको छ। निर्देशक सन्तोष सेनले निर्देशन गरेको यो फिल्मको १ मिनेट ५१ सेकेन्ड लामो टिजरले एक्सन, संवेदना, क्रोध, देशभक्ति र ड्रामाको मिश्रण प्रस्तुत गरेको छ।

टिजरमा वैरीहरूको निशानामा परेको गाउँ र त्यसका पीडितलाई न्याय दिलाउन नायकको उदय देखाइएको छ। अन्यायविरुद्धको प्रतिरोध र बदलाको कथालाई टिजरले स्पष्ट रूपमा चित्रण गरेको छ।

फिल्ममा सौगात मल्ल, समीर भट्ट, ऋचा शर्मा, अर्पण थापा, हेमन्त बुढाथोकी लगायतका कलाकारको दमदार उपस्थितिलाई देखाइएको छ। सुरुवाती दृश्यमा देशको एक हिस्सा वैरीको नियन्त्रणमा परेको आवाज सुनिन्छ भने सौगात मल्ललाई मसाल बोकेर प्रतिरोधको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ। हेमन्त बुढाथोकी राजसी पहिरनमा, अर्पण थापा राजनेताको भूमिकामा र ऋचा शर्माले कालीमाताको मूर्तिको सामु अन्यायविरुद्ध नायकको आगमनको पुकार गर्दै देखिन्छिन्।

टिजरमा निर्देशक सेन स्वयं पनि आदिवासी पात्रको रूपमा प्रस्तुत भएका छन्। समीर भट्टलाई ‘एक्सन किङ’को संज्ञा दिँदै उनका शक्तिशाली एक्सन दृश्यहरूलाई विशेष रूपमा उभ्याइएको छ।

टिजर सार्वजनिक गर्दै निर्देशक सेनले ‘बलिदान केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक’ भएको बताए।

आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। फिल्म दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

सेयर गर्नुहोस् :