काठमाडौं :अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी -२० सिरिजमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। १४५ रनको लक्ष्य पछ्याउँदै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्रै जोड्न सक्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ५२ रन बनाए भने दिपेन्द्रसिंह ऐरीले अविजित ४१ रनको संघर्षपूर्ण पारी खेले। तर, अन्तिम ओभरमा आवश्यक ८ रन पुरा गर्न नसक्दा नेपालको जितको सपना अधुरै रह्यो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो। कठिन अवस्थामा रहेका शाहीन्सलाई कप्तान मोहम्मद इरफान खान नियाजीले अविजित ४२ रनको कप्तानी पारी खेल्दै सशक्त स्कोरमा पुर्याए।
नेपालका बलरहरू मध्ये सोमपाल कामीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट हात पारे। त्यस्तै नन्दन यादव र दिपेन्द्र ऐरीले २ -२ विकेट लिए भने कुशल भुर्तेलले १ विकेट जोड्न सफल भए।
यो हारसँगै नेपालकाे टप एन्ड टी -२० सिरिजको लिग चरणकाे यात्रा समाप्त भएको छ





