समाचार

सर्वोच्च अदालतले भन्याे पशुपतिमा नाङ्गै बस्ने साधुहरू अश्लीलता होइन

काठमाडौं :सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिर परिसरमा नागा साधुहरू नाङ्गै बस्ने परम्परालाई अश्लीलता ठहर गर्न नमिल्ने ठहर गरेको छ। अदालतले यसलाई सनातन अभ्यास, भक्ति र साधनासँग जोडिएको धार्मिक परम्पराको रूपमा व्याख्या गरेको हो।

न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालको संयुक्त इजलासले गरेको फैसलामा भनिएको छ “नाङ्गै बस्नु भक्तजनलाई कामोत्तेजना बढाउने वा दिग्भ्रमित बनाउने उद्देश्यले नभई सनातन अभ्यासअनुसार भगवान पशुपतिनाथप्रतिको भक्ति र साधनाको अभिव्यक्ति हो।”

अधिवक्ता यज्ञमणि न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोषलगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए। रिटमा नागा बाबाहरूले शिवरात्रिमा भक्तजनलाई बोलाएर लिंगमा दलेको खरानीको टीका लगाउने जस्ता क्रियाकलाप यौनजन्य हिंसात्मक कार्य भएको भन्दै रोक्न माग गरिएको थियो। तर सर्वोच्चले यस्तो दाबीलाई अस्वाभाविक र अतार्किक ठहर गर्दै निवेदन खारेज गरिदिएको हो।

फैसलामा धार्मिक स्वतन्त्रता पूर्ण स्वतन्त्र नभई संवैधानिक दायराभित्र सीमित हुने स्पष्ट गरिएको छ। “सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने कार्यलाई धर्मको नाममा गर्न पाइँदैन,” फैसलामा भनिएको छ। त्यस्तै, कला,संस्कृति, शिक्षा, चिकित्सा वा सामाजिक मान्यता अनुरूप यौनाङ्ग देखाइनुलाई अश्लीलता मान्न नमिल्ने पनि अदालतको व्याख्या छ। न्यौपानेले नागा साधुहरूको पशुपति प्रवेश रोक्न माग गरेका थिए। तर अदालतले यस्तो माग परम्परामा हस्तक्षेप हुने भन्दै अस्वीकार गर्यो। “सनातन देखि चलिआएको परम्परामा प्रतिबन्ध लगाउनु उचित हुँदैन। भक्तजनले सामान्य दक्षिणा दिई बिदाइ गर्ने संस्कार नै हाम्रो सामाजिक परम्परा हो,” फैसलामा भनिएको छ। फैसलामा हिन्दु धार्मिक परम्परा, धर्मशास्त्र र वैदिक साहित्य उद्धृत गर्दै नग्न साधनालाई धार्मिक अभ्यासकै हिस्सा भएको उल्लेख गरिएको छ।

हरेक वर्ष शिवरात्रिमा देश, विदेशबाट आएका नागा साधुहरूलाई मेला सकिए पछि पशुपति क्षेत्र विकास कोषले दक्षिणा दिएर बिदाइ गर्ने प्रचलन छ।

सेयर गर्नुहोस् :