राजनीति

वीरगन्जमा पूर्वराष्ट्रपति भण्डारीलाई ५१ किलोको माला अर्पण

वीरगन्ज : पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई वीरगन्जमा एमाले कार्यकर्ताले भव्य सम्मान गरेका छन्।

शनिबार बिहान उद्योग वाणिज्य संघले आयोजना गरेको महिला उद्यमीहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन भण्डारी वीरगन्ज पुगेकी थिइन्। सो अवसरमा नेता–कार्यकर्ताले उनलाई ५१ किलोको माला लगाइदिएर स्वागत गरेका थिए। बिहान सिमरा विमानस्थलमै एमाले कार्यकर्ताले उनको स्वागत गरेका थिए भने वीरगन्ज प्रवेशपछि स्थानीय महिला र नेताहरू लामबद्ध भएर सम्मान कार्यक्रममा सहभागी भए।

पार्टी केन्द्रीय कमिटीले सक्रिय राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरे पनि भण्डारी हाल विभिन्न गतिविधिमा संलग्न देखिएकी छन्। गत असार १४ गते मदन भण्डारीको ७४औं जन्मजयन्तीका दिन उनले एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै सदस्यता नवीकरण भएको दाबी गरेकी थिइन्। तर, एमाले नेतृत्वले भने उनको सदस्यता स्वतः नवीकरण नभएको प्रष्ट पारेको छ।

यसैबीच, भण्डारीले काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय खोलेकी छिन्। पूर्वउपमेयर विदुर मैनालीको घर भाडामा लिएर स्थापन गरिएको उक्त कार्यालयलाई उनले मदन भण्डारी हीरक जन्मोत्सव मूल व्यवस्थापन समितिको सचिवालयका रूपमा प्रयोग गर्ने बताएकी छन्।

सेयर गर्नुहोस् :