राजनीति

आज रातिसम्म टुंगिन सक्ने रवि–बालेन छलफल

काठमाडौँ। रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच जारी छलफल आज रातिसम्म निर्णायक टुंगोमा पुग्ने तयारी भइरहेको छ। पार्टी एकता वा सहकार्यको औपचारिक घोषणा गर्ने लक्ष्यसहित दुवै नेताका सहकर्मीहरू सक्रिय रूपमा सहमतिको विस्तृत खाका तयार पारिरहेका छन्। यसका लागि असीम शाह र कुमार बेनले समन्वय गरिरहेका छन्।

छलफलमा नयाँ वा एकीकृत पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवारको अनुपात मुख्य विषय बनेका छन्। रविले रास्वपामा पहिल्यै धेरै आकांक्षी भएकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार गर्ने प्रस्ताव गरेका छन् भने आवश्यक परे संख्या समायोजन गर्न सकिने लचिलो धारणा पनि राखेका छन्। चुनाव चिह्नका सन्दर्भमा रास्वपाको ‘घण्टी’ चिन्ह अन्तर्गत अघि बढ्न बालेनलाई समस्या नदेखिएको जनाइएको छ।

निकट स्रोतका अनुसार सम्भावित एकीकृत संरचनामा बालेनको बरियता रविपछि रहनेछ र पहिलो चरणमै बालेनलाई प्रधानमन्त्री बनाउने पुरानो प्रतिबद्धतामा रवि कायम छन्। यस बुँदामा दुवै पक्षबीच आधारभूत सहमति बन्ने विश्वास गरिएको छ।

अघिल्ला छलफलका विषय सार्वजनिक रूपमा फरक ढंगले प्रस्तुत गरिएको भन्दै बालेन असन्तुष्ट बनेका थिए र देश विकास पार्टीको ब्यानरमा अघि बढ्ने संकेत गरेका थिए। यसले संवाद तिक्ततातर्फ जान सक्ने अवस्था बनेपछि सहकर्मीहरूले दुवै नेतालाई तत्काल मिल्न दबाब दिएका थिए। त्यसपछि संवाद फेरि सकारात्मक दिशामा फर्किएको बताइएको छ।

सहकर्मीहरूका अनुसार नयाँ राजनीतिक शक्तिहरूबीचको एकता जनभावना, विशेष गरी युवा पुस्ताको चाहना भएकाले त्यसैको सम्मान गर्दै छलफललाई सहमतिमा पुर्‍याउने प्रयास भइरहेको छ। आज रातिसम्म ठोस सहमति बनेर पार्टी एकता वा सहकार्यको स्पष्ट सन्देश आउने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस् :