काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ लाई लक्षित गर्दै नागरिकसँग ‘करार’ गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत भाषण र परम्परागत घोषणा भन्दा माथि उठेर यस पटक जनतासँग लिखित करार गर्न लागेको बताएका हुन्।
लामिछानेले फागुन २१ कुनै सामान्य मिति नभई मुलुकको भाग्य र भविष्य बदल्न सकिने कोशेढुङ्गा भएको उल्लेख गरेका छन। उनका अनुसार रास्वपाले आफ्नो चुनावी ‘वाचापत्र’ सार्वजनिक गर्नुअघि नै ‘करार-पत्र’ सार्वजनिक गर्नेछ।
“हामी यसपटक नागरिकसँग करार गर्न चाहन्छौ जहाँ गरेको वाचा पूरा गर्न नसके सजायको स्पष्ट व्यवस्था होस” उनले लेखेका छन्। फागुनको पहिलो साता विस्तृत ‘वाचापत्र’ सार्वजनिक गरिने तयारी रहेको जानकारी दिँदै उनले करार-पत्र सँगै वाचा गरिने बुँदाहरू क्रमशः सार्वजनिक हुदै जाने बताएका छन्।
राजनीतिक आरोप-प्रत्यारोप, तथ्य जाँच र सवाल,जवाफमा अल्झिनु भन्दा आफ्ना धारणा नागरिक समक्ष स्पष्ट रूपमा राख्ने उनको भनाइ छ। उनले जति सक्छौँ त्यति मात्र वाचा गर्ने र जति वाचा गरिन्छ त्यति नै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समृद्धिको लक्ष्यसहित ल्याउन लागिएको ‘नागरिक करार’ छिट्टै सार्वजनिक हुने र अन्तिम फैसला गर्ने जिम्मा नागरिककै हातमा रहने लामिछानेले उल्लेख गरेका छन्।






