समाज

सामाजिक सञ्जालमा गलत सूचना लाइक, शेयर वा फरवार्ड गर्नु पनि अपराध : नेपाल प्रहरी

काठमाडौ। नेपाल प्रहरीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई गलत सूचना प्रति सचेत रहन आग्रह गरेको छ। प्रहरीले सार्वजनिक गरेको सूचनामा सामाजिक सञ्जालमा भ्रामक वा गलत सामग्री पोस्ट गर्ने मात्र होइन त्यसमा लाइक, शेयर वा फरवार्ड गर्ने व्यक्ति समेत कानुनी कारबाहीको दायरामा पर्ने जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय पुराना वा भ्रामक भिडिओलाई नयाँ घटना भन्दै पुनः प्रसारण गर्ने प्रवृत्ति बढ्दो छ। यस किसिमको कार्यले समाजमा भ्रम फैलाउने भएकाले यसलाई कानुनअनुसार अपराधको रूपमा लिइने स्पष्ट पारिएको छ।

फेक अकाउन्ट प्रयोग गरे पहिचान लुक्छ भन्ने भ्रम पनि निराधार रहेको प्रहरीले जनाएको छ। डिजिटल प्रविधिको प्रयोगबाट प्रयोगकर्ताको पहिचान पत्ता लगाउन सकिने र स्क्रिनशट, आईपी लग तथा अन्य डिजिटल रेकर्ड अदालतमा प्रमाणका रूपमा मान्य हुने सूचनामा उल्लेख छ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार विद्युतीय माध्यमबाट गैरकानुनी, अनैतिक वा घृणा फैलाउने सामग्री प्रकाशन वा प्रसारण गरेमा एक लाख रुपैयाँ सम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। यस्तो कसुर दोहोरिएमा थप कडा सजाय हुने कानुनी प्रावधान छ।

कानुन विपरीत सामाजिक सञ्जालमा गलत सूचना फैलाएको पाइएमा नेपाल प्रहरीका आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट तथा पेज मार्फत वा १०० नम्बरमा फोन गरी जानकारी गराउन प्रहरीले सर्व साधारणलाई आग्रह गरेको छ।

सेयर गर्नुहोस् :