काठमाडौ। निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनलाई मर्यादित, शान्त र निष्पक्ष रूपमा सम्पन्न गर्न विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ। आयोगले ती निर्णयहरू कार्यान्वयन गर्न नेपाल सरकारलाई आवश्यक सहजीकरण गर्न अनुरोध समेत गरेको छ।
आयोगका अनुसार फागुन १८ गते राति १२ बजे पछि कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन। मौन अवधि सुरु भए सँगै उम्मेदवार तथा दलहरूले प्रचार गतिविधि पूर्ण रूपमा बन्द गर्नुपर्ने जनाएको छ।
त्यस्तै मतदानको सात दिन अघि देखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुन्जेल सम्म मदिराजन्य पदार्थ (रक्सी) को बिक्री तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइने निर्णय गरिएको छ। सवारी आवागमन तर्फ पनि कडाइ गरिने भएको छ। फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझसम्म अत्यावश्यक सेवा बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइनेछ। अत्यावश्यक सेवामा संलग्न सवारी भने आवश्यक कागजातसहित सञ्चालन गर्न पाइनेछ।
निर्वाचनको दिन आन्तरिक (Domestic) तथा अन्तर्राष्ट्रिय (International) उडान भने सञ्चालन हुनेछन्। तर विमानस्थल आवतजावत गर्ने यात्रुले अनिवार्य रूपमा आफ्नो हवाई टिकट साथमा राख्नुपर्ने आयोगले जनाएको छ।
सुरक्षालाई ध्यानमा राख्दै चुनाव हुनुभन्दा ७२ घण्टा अगाडि देखि जिल्लाका अन्तर्राष्ट्रिय सीमाहरू बन्द गर्ने व्यवस्था मिलाइने पनि आयोगले जानकारी दिएको छ।
मतदानका लागि मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले परिचय खुल्ने कागजातका आधारमा भोट हाल्न सक्नेछन्। मतदाता परिचयपत्र नभए पनि नागरिकता, राष्ट्रिय परिचयपत्र, जग्गाधनी लालपुर्जा वा पासपोर्ट देखाएर मतदान गर्न पाइने व्यवस्था गरिएको छ।






