मोरङ। मोरङ जिल्लामा निर्वाचन प्रचारमा प्रयोग भइरहेको एउटा गाडीबाट साढे ४ लाख भन्दा बढी नगद फेला परेको छ। उक्त गाडी नेपाली कांग्रेस का कार्यकर्ता सवार रहेको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले रतुवामाइ क्षेत्रमा गाडी रोकेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले जाँच गर्दा गाडी भित्र कांग्रेसका प्रचार सामग्रीसहित ४ लाख ४९ हजार रुपैयाँ भेटिएको जनाएको छ।
चालकले उक्त रकम आफ्नै व्यवसायिक आम्दानी भएको दाबी गरेका छन्। प्रहरीले पैसा र गाडी सहित तीन जनालाई नियन्त्रणमा लिए पनि सोधपुछ पछि उनीहरूलाई छाडिएको छ।
यस विषयमा थप अनुसन्धानका लागि पैसा र गाडी मोरङ क्षेत्र नम्बर २ निर्वाचन कार्यालय मा बुझाइएको छ। निर्वाचन अधिकृत रूद्र आचार्यले आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन्।
मोरङ-२ मा कांग्रेसबाट मिनेन्द्र रिजाल उम्मेदवार छन् भने अन्य प्रमुख प्रतिस्पर्धीहरूमा एमाले, नेकपा र रास्वपाका उम्मेदवार रहेका छन्।





