समाचार

आशिका तामाङ ‘उम्मेदवारी खारेज’ भन्ने समाचार भ्रामक कानुनी उपचार खोज्ने

काठमाडौ। धादिङ -१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी खारेज भएको भन्दै केही मिडिया हाउसहरूले भ्रामक समाचार फैलाएको आरोप लगाएकी छन्।

भोलि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिदै तामाङले उक्त समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेकी हुन्। उनले आफ्नो उम्मेदवारी कायमै रहेको र निर्वाचन प्रक्रियामा कुनै अवरोध नरहेको बताएकी छन्।

“म यही देशकी नागरिक हु। संविधानले दिएको मताधिकार र उम्मेदवार बन्ने अधिकार प्रयोग गर्दै चुनावी मैदानमा उत्रिएकी छु” उनले लेखेकी छन्, मलाई ‘विदेशी भन्दै लगाइएका आरोपहरू पूर्णरूपमा निराधार हुन्।”

निर्वाचनको अन्तिम घडीमा आफूलाई कमजोर पार्ने उद्देश्यले योजना बद्ध रूपमा गलत सूचना फैलाइएको दाबी गर्दै उनले यस विषयमा कानुनी उपचार खोजिसकेको जानकारी दिएकी छन्। भ्रामक सूचना फैलाउनेहरू विरुद्ध आवश्यक प्रक्रिया अगाडि बढाइएको पनि उनले उल्लेख गरेकी छन्।

तामाङले मतदातालाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्दै निर्धक्क रूपमा मतदान गर्न अपिल गरेकी छन्। निर्वाचनको मुखमा सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यममार्फत उम्मेदवारी खारेज भएको भन्ने दाबी फैलिएको थियो।

सेयर गर्नुहोस् :