चितवन। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन-२ र झापा-५ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी तालमेल भएको तथ्य बाहिर आएको छ। दुवै क्षेत्रमा एक अर्कालाई सघाउने गरी सहमति भएको स्रोतले जनाएको छ।
झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा थिए। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बालेन्द्र शाहसँग कडा प्रतिस्पर्धा देखिएका थिए। प्रारम्भिक विश्लेषणमा प्रतिस्पर्धा कडा देखिए पछि झापा-५ मा ओलीलाई जिताउन प्राथमिकता दिइएको बताइएको छ।
उता चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार थिए भने नेपाली कांग्रेसबाट मीनाकुमारी खरेल प्रतिस्पर्धामा थिइन्। खरेलको पक्षमा माहोल सकारात्मक बन्दै गएको अवस्थामा एमालेले उनलाई सघाउने निर्णय गरेको स्रोतको दाबी छ।
चितवन-२ का एमाले उम्मेदवार अस्मिन घिमिरेका अनुसार फागुन २० गते मध्य रातमा अध्यक्ष ओलीले सम्पर्क गरेका थिए। मतदान अघिको बिहान पुनः भएको संवादमा ‘यो पटक चितवन-२ कांग्रेसलाई छोड्ने’ सहमति बनेको जनाइएको छ।
सोही अनुसार घिमिरेले आफ्ना प्रतिनिधि मार्फत मतदातालाई कांग्रेस उम्मेदवारलाई मत दिन आग्रह गरेका थिए। स्थानीय नेताहरूका अनुसार एमालेका मत नेपाली कांग्रेस कि मीनाकुमारी खरेल पक्षमा खसेको दाबी गरिएको छ।





