समाचार

इनिसा विक मृत्यु प्रकरणः फरेन्सिक प्रतिवेदनको प्रतीक्षामा प्रहरी

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी १६ वर्षीया इनिसा विकको मृत्यु घटनाबारे प्रहरीले फरेन्सिक प्रतिवेदन पर्खिरहेको जनाएको छ। घटनामा बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार घटनासँग जोडिएका तीन बालकलाई नियन्त्रणमा लिएर सोधपुछ र थप अनुसन्धान भइरहेको छ।

प्रहरीले मृतक इनिसा र शंकास्पद बालकहरूको मोबाइल फोन तथा अन्य डिजिटल सामग्री संकलन गरेको छ। साथै घटनासँग सम्बन्धित मृतक इनिसा र आरोपित बालकहरूको मोबाइल, अन्य विद्युतीय सामग्री तथा इनिसाको भजाइनल स्वाबलगायतका प्रमाणहरू केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षणका लागि पठाएको छ। ती नमुनामा टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षण गरिनेछ।

प्रवक्ता बुढथापाका अनुसार फरेन्सिक प्रतिवेदन प्राप्त भएपछि मात्र घटनाको वास्तविक कारण र परिस्थितिबारे स्पष्ट हुने र सामान्यतया यस्तो प्रतिवेदन आउन करिब १५ दिन लाग्ने भए पनि यस घटनाको अनुसन्धानलाई प्राथमिकता दिँदै एक साता भित्र प्रक्रिया सक्ने प्रयास भइरहेको उनले बताए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :