काठमाडौ। महानायक राजेश हमालको नाम दुरुपयोग गरी सरकारी रकम हिनामिना गरिएको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आर.जे. ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई प्रतिवादी बनाएको हो।
अख्तियारका अनुसार, राजेश हमालको नाम जोडेर वृत्तचित्र निर्माण गर्ने बहानामा करिब १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो। तर सो मध्ये १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ अनियमित रूपमा भुक्तानी गरिएको पाइएको छ।
अनुसन्धानका क्रममा सार्वजनिक खरिद ऐनको उल्लङ्घन गर्दै बिना प्रतिस्पर्धा सोझै सम्झौता गरिएको, कानुनी सीमा नाघेर ३५ प्रतिशतसम्म पेस्की दिइएको र बैंक ग्यारेन्टीसमेत नलिई रकम भुक्तानी गरिएको खुल्न आएको छ।
त्यसैगरी, पेश गरिएका बिलहरू शङ्कास्पद र नक्कली भएको तथा वास्तविक काम नै नगरी योजनाबद्ध रूपमा रकम हिनामिना गरिएको अख्तियारको ठहर छ।
अख्तियारले सम्बन्धित पदाधिकारीहरूले आफ्नो अधिकार दुरुपयोग गर्दै व्यक्तिगत लाभ लिएको निष्कर्ष निकाल्दै भ्रष्टाचार निवारण ऐन अन्तर्गत बिगो असुलउपर सहित सजायको माग गरेको छ।





