काठमाडौ। करिब दुई वर्ष अघि नाबालिकामाथि श्रम शोषण तथा कुटपिट गरेको आरोपमा उजुरी परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार राति काठमाडौंको धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित सांसद शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर कुटपिट तथा शोषण गरेको आरोप छ। उक्त घटनामा काठमाडौँ महानगरपालिकाले २०८१ जेठ १४ गते बालुवाटारस्थित उनको निवासबाट ती बालिकाको उद्धार गरेको थियो।
महानगरका अनुसार आर्थिक रूपमा कमजोर परिवारकी बालिकालाई पढाइदिने प्रलोभन देखाएर घरमा राखिएको थियो। तर पछि उनलाई अत्यधिक काममा लगाइएको र शारीरिक दुर्व्यवहारसमेत गरिएको गुनासो आएपछि उद्धार गरिएको हो।
उद्धारपछि महानगरले शर्माविरुद्ध काठमाडौँ जिल्ला प्रहरी परिसरमा उजुरी दिएको थियो। महानगरले मुलुकी फौजदारी संहिता ऐन २०७४ अन्तर्गत दास बनाउन नहुने कसुरमा कारबाही गर्न माग गरेको थियो। तर उजुरी दर्ता भए पनि लामो समयसम्म मुद्दा अघि नबढ्दा राजनीतिक प्रभाव परेको आरोप लाग्दै आएको थियो। त्यतिबेला केपी शर्मा ओली नेतृत्वको सरकार थियो।
महानगरले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि कारबाही नभएपछि तत्कालीन मेयर बालेन्द्र शाहले २०८१ माघ २९ गते सामाजिक सञ्जालमार्फत पीडित बालिकासँग क्षमायाचना गरेका थिए। उनले “सरी नानु, तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले, नआत्तिनू, समय आउनेछ” भन्दै आक्रोश व्यक्त गरेका थिए।
पीडित बालिकाले आफू करिब ६ वर्षदेखि परिवारसँग सम्पर्कविहीन रहेको गुनासोसमेत गरेकी थिइन्।






