समाचार

बलात्कार आरोपपछि सागर लम्साल ‘बले’ चलचित्र पाँच पाण्डव बाट निष्कासित

काठमाडौँ। कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको गम्भीर आरोप लागेपछि निर्माणाधीन चलचित्र ‘पाँच पाण्डव’ बाट उनलाई निष्कासन गरिएको छ। निर्माण कम्पनी कालिरानी फिल्म्स प्रालिले बुधबार विज्ञप्ति जारी गर्दै नैतिकताको आधारमा लम्सालसँगको सम्झौता रद्द गरिएको जानकारी दिएको हो।

अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत करिब एक वर्षअघि लम्सालले आफूमाथि बलात्कार गरेको आरोप सार्वजनिक गरेपछि निर्माण पक्षले आपत्कालीन बैठक बोलाएर यस्तो निर्णय गरेको हो। कम्पनीले उनलाई फिल्मको हिस्सेदार र कलाकार दुवै भूमिकाबाट हटाएको जनाएको छ।

चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार चैत २ गतेदेखि झापामा छायांकन भइरहेको फिल्ममा लम्सालका करिब ९० प्रतिशत दृश्य खिचिसकिएको थियो। तर अब ती सबै दृश्य हटाएर पुनः छायांकन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ “छायांकनकै क्रममा एक मुख्य कलाकारलाई हटाउनु पर्दा र पुनः दृश्य खिच्नु पर्दा आर्थिक क्षति हुने निश्चित छ। तर पीडितको पीडाको अघि हाम्रो क्षति गौण विषय हो।” निर्माण टिमले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई शीघ्र न्याय दिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ।

प्रस्तुतकर्ता श्रेष्ठले भने, “जघन्य अपराधमा आरोप लागिसकेका व्यक्तिलाई हाम्रो फिल्ममा निरन्तरता दिन सकिँदैन। सामाजिक नैतिकता र न्यायको पक्षमा उभिँदै हामीले करार रद्द गरेका हौँ।”

निर्माण पक्षले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। सागर लम्साल ‘बले’ हास्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनी’बाट चर्चित कलाकार हुन्।

सेयर गर्नुहोस् :