काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले सुदूरपश्चिम क्षेत्रमा पाइने दुर्लभ ‘नौ मुठ्ठे गाई’ को संरक्षण र प्रवर्द्धनका लागि केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग हालै भएको भेटमा उनले अछामको रामारोशन क्षेत्रमा राष्ट्रिय स्तरको संरक्षण तथा अनुसन्धान केन्द्र स्थापना गर्न प्रस्ताव राखेका हुन्।
सांसद खनालका अनुसार विश्वकै सानो गाईमध्ये मानिने ‘नौ मुठ्ठे गाई’को व्यावसायिक विकासले सुदूरपश्चिममा कृषि पर्यटन प्रवर्द्धन गर्न सक्ने सम्भावना रहेको छ। “विदेशी पर्यटकलाई आकर्षित गरी स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउन सकिन्छ,” उनले बताए।
अछाम, बाजुरा, बझाङ, डोटी र पहाडी क्षेत्रमा पाइने यो गाई उचाइमा करिब ८० देखि ९० सेन्टिमिटर मात्र हुन्छ। शारीरिक बनावट कै आधारमा यसको नाम ‘नौ मुठ्ठे’ (हातका ९ वटा मुट्ठी जति उचाइ) रहन गएको हो।
पछिल्लो समय यसको संख्या तीव्र रूपमा घट्दै गएको छ। विशेषज्ञहरूका अनुसार ‘नौ मुठ्ठे गाई’ जैविक विविधता, सांस्कृतिक परम्परा र स्थानीय पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पत्ति हो। यसको दूध र घिउ पोषिलो र औषधीय गुणयुक्त मानिए पनि बजार पहुँचको अभावमा किसानले अपेक्षित लाभ लिन सकेका छैनन्।
अछामको ‘नौ मुठ्ठे’ गाई केवल एक पशु मात्र होइन यो जैविक विविधता, सांस्कृतिक परम्परा र स्थानीय आर्थिक सम्पत्ति पनि हो। समय मै संरक्षण, अनुसन्धान र व्यवस्थित बजार व्यवस्थापन नगरे यस दुर्लभ जातको अस्तित्व इतिहासमा मात्र सीमित हुने खतरा बढ्दो छ।





