समाचार

राष्ट्रपतिको सन्देश: सरकार जनताको चाहनाअनुसार चल्नुपर्छ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सरकार जनताले व्यक्त गरेको मर्म, भावना र आकाङ्क्षा अनुसार नै अघि बढ्नुपर्ने बताएका छन्।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय इतिहासमै पहिलो पटक उल्लेखनीय रूपमा युवा पुस्ताको व्यापक सहभागिता देखिएको बताएका छन्। उनले यसलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली प्रति युवा पुस्ताको विश्वास, आकर्षण र नेतृत्व विकास भएको स्पष्ट संकेतका रूपमा व्याख्या गरे।

जनताले अहिले उत्तरदायी र पारदर्शी शासन व्यवस्था, प्रभावकारी सेवा प्रवाह, भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना, विधिको शासन, देशभित्रै रोजगारीका अवसर, दण्डहीनताको अन्त्य, सामाजिक न्याय तथा तीव्र आर्थिक सामाजिक विकासको अपेक्षा राखेका छन्। यी मागहरू विगतका विभिन्न जनआन्दोलन, संघर्ष तथा पछिल्लो समय युवाहरूले गरेको आन्दोलन मार्फत निरन्तर रूपमा व्यक्त हुँदै आएको उनले स्मरण गरे।

राष्ट्रपति पौडेलले जनताको यही आकाङ्क्षा पूरा गर्न संसद्ले नागरिक केन्द्रित र जनकल्याणकारी कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन। उनका अनुसार, कानुन निर्माण मात्र होइन, बनेका कानुनहरूको मर्म र भावना अनुसार प्रभावकारी र परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्नु सरकारको प्रमुख जिम्मेवारी हो।

त्यसैगरी, उनले न्यायपालिकाबाट छिटो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सके मात्र परिवर्तनका लागि जीवन अर्पण गर्ने शहीदहरू प्रति साँचो अर्थमा सम्मान हुने बताए।

राष्ट्रपति पौडेलले समग्रमा राज्यका सबै निकायले जनताको चाहना र अपेक्षालाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै सुशासन, विकास र स्थायित्वतर्फ अग्रसर हुन सरकारलाई आग्रह गरेका छन्।

सेयर गर्नुहोस् :