समाचार

म्यानपावर कम्पनीलाई सेवा शुल्क अब बैंकिङ प्रणाली मार्फत मात्र लिन निर्देशन

काठमाडौं। वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूलाई सेवा शुल्क अब देखि अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र लिन निर्देशन दिएको छ। विभागले नगद कारोबार पूर्ण रूपमा बन्द गर्न आग्रह गर्दै यस्तो नियम उल्लंघन भएमा कारबाही गरिने बताएको छ।

विभागका अनुसार वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकसँगको लेनदेनमा पारदर्शिता कायम गर्न तथा ठगी नियन्त्रण गर्न बैंकिङ प्रणाली अनिवार्य गरिएको हो। म्यानपावर कम्पनीहरूले अब सेवा शुल्क नगदमा लिन नपाउने व्यवस्था लागू भएको छ। विभागले जारी गरेको सूचनामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकसँगको कारोबारमा पारदर्शिता सुनिश्चित गर्न बैंकिङ माध्यम अनिवार्य गरिएको उल्लेख छ। नगद लेनदेन गर्दा ठगी तथा अनियमितताको जोखिम बढ्ने भएकाले यस्तो व्यवस्था लागू गरिएको हो।

विभागका अनुसार खाडी मुलुकतर्फ जाने श्रमिकका लागि सेवा शुल्क अधिकतम १० हजार रुपैयाँसम्म मात्र लिन पाइने व्यवस्था छ। मलेसियासँगको सम्झौताअनुसार भने नेपाली श्रमिक शून्य लागतमा पठाउने व्यवस्था लागू छ।

त्यस्तै युरोपसहित अन्य गन्तव्य देशमा जाने श्रमिकका हकमा सेवा शुल्क स्पष्ट रूपमा तोकिएको छैन। विभागले म्यानपावर कम्पनीहरूलाई बैंकिङ कारोबारको सम्पूर्ण प्रमाण, कागजात तथा अनलाइन विवरण सुरक्षित राख्न पनि निर्देशन दिएको छ।

सेयर गर्नुहोस् :