काठमाडौं। सरकारले शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था प्रस्ताव गरेको छ। शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ को प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
शिक्षा मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको प्रस्तावमा माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक तथा प्राथमिक तहका सबै श्रेणीका शिक्षकलाई चार लाख रुपैयाँ सम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था समेटिएको छ।
प्रस्ताव अनुसार सवारी साधन खरिदका लागि बैंकबाट लिइने ऋणको लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज सरकारले व्यहोर्नेछ। बाँकी २० प्रतिशत रकम शिक्षक स्वयंले व्यवस्थापन गर्नुपर्नेछ।
सरकारले शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याजमा सहुलियत दिने प्रस्ताव गरेको हो।



