राजनीति

रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नं–३ मा हुने उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवारको रूपमा चयन गरेको छ।

उम्मेदवार घोषणा भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै डा. थापाले यो अवसरलाई ठूलो जिम्मेवारीका रूपमा लिएको बताए। उनले भने, “जनताको आशा आकांक्षालाई न्याय दिने संकल्पका साथ चुनावी यात्रामा अघि बढ्छु।”

डा. थापाले उम्मेदवारीलाई व्यक्तिगत अवसर भन्दा बढी जवाफदेहिता र जिम्मेवारीको भारको रूपमा लिएको उल्लेख गरे। आइतबार साँझ पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाको मूल विचार र शैलीलाई जनता माझ अझ प्रस्टसँग पुर्‍याउने चुनौती आफूले स्वीकारेको स्पष्ट पारे।

उनको भनाइमा, “अब म जनताको बीचमा गएर रास्वपाको डीएनएलाई कति माथि पुर्‍याउन सक्छु भन्ने मेरो प्रमुख चुनौती हो।”

चुनावी अभियानलाई पार्टीको माथिल्लो तहदेखि वडा तहसम्मको सामूहिक प्रयासका रूपमा अघि बढाइने बताउँदै उनले आफूसँगै आकांक्षा व्यक्त गरेका अन्य ८ जना साथीलाई समेत अभियानमा समेट्ने प्रतिबद्धता जनाए। “उहाँहरू बिना म पूर्ण छैन। हामी सबै मिलेर नै चुनाव जित्ने हो,” उनले भने।

विजयको सम्भावना लगभग सुनिश्चित रहेको दाबी गर्दै डा. थापाले थपे, “यो मेरो चाहना होइन, जनताको चाहना हो। त्यसैले जित ९९ प्रतिशत पक्का छ भन्नेमा म ढुक्क छु।”

सञ्चारकर्मीले “पार्टीले तपाईंलाई नै किन उम्मेदवार बनायो?” भन्ने प्रश्न गर्दा उनले स्वास्थ्यकर्मीको हैसियतमा जनतासँग नजिक भएर काम गरेको अनुभवलाई कारण बताए। “स्वास्थ्य सेवामा सक्रिय रहँदै जनताको मन छुने अवसर पाएकोले सायद मलाई अलिकति फाइदा भएको होला,” उनले स्पष्ट पारे।

घोषणासँगै पार्टी कार्यालयमा उपस्थित समर्थकहरूले नाराबाजी सहित खुसीयाली मनाएका थिए।

सेयर गर्नुहोस् :