समाचार

आगामी फागुन २१ को प्रतिनिधिसभा चुनावमा ‘ई–मनिटर प्लस’ सफ्टवेयर प्रयोग

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक सूचना नियन्त्रणका लागि ‘ई–मनिटर प्लस’ सफ्टवेयर प्रयोग गर्ने भएको छ।

AI मा आधारित यो सफ्टवेयर यसअघि २० भन्दा बढी देशमा प्रयोग भइसकेको आयोगले जनाएको छ। यो प्रविधिले सामाजिक सञ्जालमा फैलिन सक्ने मिसइन्फर्मेसन र डिसइन्फर्मेसन सम्बन्धी सामग्री पहिचान गर्न सहयोग गर्नेछ। भ्रामक समाचार, गलत दाबी, उक्साहटपूर्ण सामग्री तथा चुनावी आचारसंहिता विपरीतका गतिविधिलाई सफ्टवेयरले संकेतमार्फत देखाउनेछ।

सफ्टवेयरबाट प्राप्त संकेतको आधारमा आयोगले प्रहरीमार्फत सम्बन्धित सूचनाको खोजी गर्ने र संलग्न व्यक्तिमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। यसले चुनावको समयमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न, मतदातालाई सही सूचना प्रवाह गर्न र निर्वाचन प्रक्रियाप्रति जनविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस् :