काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन जी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्रीलाई समानुपातिक सांसदको सूचीमा समावेश गरेको छ। पार्टीले आइतबार निर्वाचन आयोगमा बुझाएको ५७ जनाको समानुपातिक सूचीमा उनको नाम पनि रहेकाे छ।
खस-आर्य महिला क्लस्टरबाट कुल १६ जना महिला रास्वपाबाट सांसद बन्नेछन्। महिलातर्फ रचना खतिवडासँगै समीक्षा बास्कोटा, प्रतिभा रावल, लिमा अधिकारी, विदुषी राणा, श्रद्धा कुँवर, टीका सङ्ग्रौला, क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल, र प्रभा ढकाललाई पनि समानुपातिक सांसद बनाउने निर्णय गरिएको छ।
यसैगरी, पुरुषतर्फ रमेश प्रसाईँलाई समानुपातिक सांसदको सूचीमा समावेश गरिएको छ।
जेनजी आन्दोलनको क्रममा रसिक खतिवडा भदौ २३ गते बानेश्वरमा भएको प्रदर्शनमा छाती र पेटमा गोली लागेर ज्यान गुमाएका थिए।





