समाचार

सबित्रा भण्डारीको भावुक भनाइ

काठमाडौं:महिला फुटबलकी स्टार खेलाडी सबित्रा भण्डारी ‘साम्बा’ ले जिल्लास्तरका खेलाडीहरूको दुःखद अवस्था र सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गरेकी छिन। एक कार्यक्रममा बोल्दै उनले भनिन्, “म यो कुरामा एकदमै proud छु कि म सशस्त्र प्रहरीमा जागिरे छु। त्यो कुराले गर्दा पनि मेरो केही मात्रामा मेरो kit हरु मैले मेरो salary बाट किन्न पाउँछु।” तर सबै खेलाडीहरूको अवस्था आफूजस्तो नभएको भन्दै उनले गहिरो पीडा व्यक्त गरिन्। “बाँकी भएका जिल्लाको खेलाडीहरूले कहाँबाट किन्ने त? त्यो पनि ‘what’ question आउँछ,” भन्दै उनले जिल्लास्तरका खेलाडीहरू एकजना जर्सी वा एक जोडी जुत्ताको लागि संघर्ष गरिरहेकाको यथार्थ सुनाइन्। “च्यातिएको जुत्तालाई दुई–तीन चोटि सिलाएर लगाइरहेको छ। त्यो भाइबहिनीहरू भोलि गएर देशलाई केही गर्छु भनेर हिँडिरहेको बच्चाले भोलि गएर के सिक्ने त?” भन्ने उनको प्रश्नले खेलकुद क्षेत्रमा पूर्वाधार र पहुँचको अभावलाई उजागर गरेको छ। उनले सुरक्षा निकायमा आबद्ध भएर खेलिरहेका धेरै खेलाडीहरू त्यहाँ नपुगेको भए दैनिक जीवन कसरी चल्थ्यो होला भन्ने प्रश्नसमेत उठाइन्। “जति पनि खेलाडीहरू अहिले पुलिसमा हुनुहुन्छ, आर्मीमा हुनुहुन्छ उहाँहरू त्यो क्लबमा join नभएको भए उहाँहरूको दैनिकी के हुन्थ्यो होला?” भन्दै उनले राज्यले खेलाडीको भविष्य सुनिश्चित गर्ने दीर्घकालीन योजना आवश्यक रहेको संकेत गरिन्।

सबित्राको भनाइले नेपालमा महिला फुटबल र जिल्लास्तरका खेलाडीहरूको अवस्थाबारे गम्भीर बहस उठाएको छ। पूर्वाधार, सामग्री र उचित सुविधा अभावका कारण हजारौं सम्भावनाशील प्रतिभा ओझेलमा परिरहेको सन्देश उनले स्पष्ट रूपमा दिएकि छिन।

सेयर गर्नुहोस् :