समाचार

चार प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी भू-भागभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय रहने जानकारी दिएको छ। महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा साधारणतया बदली हुनेछन् भने बाँकी भागमा आंशिक बदली रहनेछ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई लगायत केही स्थानमा र मधेस प्रदेशका केही भागमा मध्यम वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान छ।

आज राति देशका पहाडी भागमा सामान्यतया बदली रहनेछ। गण्डकी प्रदेशका पहाडी तथा तराई, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

महाशाखाले वर्षाका कारण पहाडी भागमा पहिरोको जोखिम, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, र यातायात प्रभावित हुन सक्ने भएकाले सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।

सेयर गर्नुहोस् :