समाचार

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउन सबै नागरिकले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार आयोजित ‘जुरुक्क कर्णाली’ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्णालीमा भइरहेका विकास निर्माणका काम र आगामी योजनाबारे जानकारी दिँदै सकारात्मक सोच र कर्मठ प्रयासमार्फत मात्रै मुलुकले प्रगति गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कर्णाली क्षेत्रमा भएका विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रंगशाला लगायतका निर्माण कार्यलाई महत्वपूर्ण उपलब्धि भन्दै अझै ठूलो सम्भावना बाँकी रहेको बताए । उनले भने, “कर्णालीको स्याउ अब बजार पाउँछ, सदरमुकामदेखि हुम्लासम्म पिच सडक पुग्छ । ‘मोटरबाटो चढी जाउँला रारा घुम्न’ भन्ने गीत अब यथार्थमा बदलिएको छ ।”

सन् २०२६ सम्म नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने तयारी भइरहेको स्मरण गराउँदै उनले कर्णालीलाई उच्च प्राथमिकतामा राखिने प्रतिवद्धता व्यक्त गरे ।
दैलेखमा मिथेन ग्यासको भण्डार भेटिएको उदाहरण दिँदै उनले कर्णालीलाई उर्जा र खानीको सम्भावनाले धनी क्षेत्रका रूपमा चित्रण गरे । साथै, यार्सागुम्बा निर्यातलाई व्यवस्थित गर्दै कर्णालीको अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राखे ।

ओलीले लोकतान्त्रिक गणतन्त्रले कर्णालीलाई न्याय दिने विश्वास व्यक्त गर्दै भने, “अब निरकुंशताको अँध्यारो युग सकिएको छ । नेपाल बन्छ, कर्णाली बन्छ, हामी सबै मिलेर बनाउँछौँ । सिङ्गो नेपाल उठ्छ, कर्णाली जुरुक्क उठ्छ ।”

सेयर गर्नुहोस् :