बाजुरा : साउन २८ गतेको अविरल वर्षासँगै आएको बाढी–पहिरोले घरबास गुमाएका बाजुराका बिच्छ्या र कवाडीवासी अझै त्रिपालमुनी रात काट्न बाध्य भएका छन्।
हिमाली गाउँपालिका–१ बिच्छ्यामा आठ घर बगाएका छन् भने नौ घर पूर्ण जोखिममा परेका छन्। वडा नं.–५ कवाडीमा १६ घर बग्दा ३२ घरमा पूर्ण क्षति भएको छ। स्थानीयहरू अहिले खुला आकाशमुनि अस्थायी रूपमा टहरोमा बसिरहेका छन्।
बिच्छ्याका सुवलाल थापाले घरसँगै अन्नपात समेत बगाएको बताउँदै, “खानका लागि गाउँपालिकाले चामल दिएको छ तर बस्ने घर छैन,” भने। उनले तत्काल स्थायी बासको व्यवस्था गरिदिन स्थानीय सरकारसँग आग्रह गरे।
यद्यपि मानवीय क्षति नभए पनि पहिरोले घर, जग्गा,जमिन, पुल, सडक, विद्यालय र खानेपानीका संरचनासहित थुप्रै भौतिक पूर्वाधारमा ठूलो नोक्सानी गरेको हिमाली गाउँपालिकाले जनाएको छ।





