समाचार

प्रधानमन्त्री ओली भोलि संसदमा सम्बोधन गर्ने, आगामी संसद कार्यसूची तय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन्।

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा निस्कन लागेका छन्। त्यसैअन्तर्गत उनी भ्रमणका बारेमा सदनमा जानकारी दिन लागेका हुन्।

उक्त छलफलमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदको आगामी १५ दिनको सम्भावित कार्यसूचीसम्बन्धी जानकारी दिएका छन्।

उनका अनुसार, भाद्र १३ गते बस्ने प्रतिनिधिसभा बैठकले भूमिसम्बन्धी विधेयक पारित गरी राष्ट्रियसभामा पठाउने तयारीमा छ। भाद्र १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयबाट फिर्ता आएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावना रहेको छ।

त्यसैगरी निजामति विधेयक राष्ट्रियसभाबाट आएमा भाद्र १९ गते पारित गर्ने तयारी भइरहेको छ। भाद्र २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने सम्भावित क्यालेन्डर तय गरिएको छ।

प्रधानमन्त्रीको सम्बोधनपछि आगामी संसद बैठकको कार्यतालिका अनुसार भाद्र महिनामा १८, १९, २५, २६ र २७ गते प्रतिनिधिसभा बैठक बस्ने निश्चित भएको छ।

सेयर गर्नुहोस् :