काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मुलुक निर्माणका लागि केवल नीति र निर्णय पर्याप्त नहुने बताएका छन्।
सोमबार काठमाडौंको कालिकास्थानस्थित सांस्कृतिक संघ भवनमा आयोजित ‘हर्क साम्पाङ : अ रिभोलुसन’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “अब ३ करोड नेपालीका ६ करोड हात एकैसाथ चल्नुपर्छ। कलमले मात्रै देश बन्दैन, औजार चलाउनुपर्छ, श्रमदान गर्नुपर्छ।”
उनले उत्पादनमुखी समाज निर्माण नगरेसम्म देश गरिबीबाट मुक्त नहुने स्पष्ट पारे। “कलम भिडाएर वा मोबाइल चलाएर मात्र देश धनी हुँदैन। उत्पादन नभएपछि हामी किनेर खानुपर्छ, र किनेर खाने राष्ट्र गरिब हुन्छ,” उनले तर्क गरे।
साम्पाङले नागरिकलाई घरआँगनमा फूल वा तरकारी रोपेर भए पनि उत्पादनमा जोड दिन आह्वान गरे। “सबैले श्रमदान गरौँ, औजार बोऔँ, अनि मात्रै देश धनी हुन्छ,” उनले भने।
सोमबार बिहान काठमाडौं आइपुगेका साम्पाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूले र्यालीसहित स्वागत गरेका थिए।





